दैलेखमा पेट्राेलकाे मात्रा पत्ता लगाउन १ सय ८० मिटर ड्रिलिङ सकियाे

दैलेख । भैरवी गाउँपालिका-१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको ड्रिलिङ‌को काम अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ सकिएको छ । जमिन मुनि ४ किलोमिटर ड्रिलिङ गर्ने कार्य अन्तर्गत १ सय ८० मिटर ड्रिलिङ सकिएको आयोजनाले जानकारी दिएको हाे । ड्रिलिङ कामको औपचारिक उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन् ।



अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र नेपालको आर्थिक समृद्धिको ढोका खुल्नेमा सरकार आशावादी रहेको छ । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के. पी. शर्मा ओलीको पालामा सुरुवात भएको यो आयोजना वर्तमान सरकारले पनि उच्च प्राथमिकतामा राखेको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्तिम अन्वेषणको अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा नेपालको समृद्धिको ढोका खुल्ने बताएका छन्। ‘देश विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ, आम नेपालीमा खुसी छाएको र आफूहरू पनि उत्साहित भएका छौं,’ घिमिरेले भने ।

नेपालगन्जबाट आयोजनास्थल दैलेखको जलजलेमा आउनुपर्ने सामग्रीहरू आइसकेपछि अहिले धमाधम ड्रिलिङ‌को काम सुरु भएको छ । ड्रिलिङको काम सुरु भएसँगै आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुने आशा गरिएको छ ।

अन्तिम अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधन लगायतका अन्य प्रक्रिया सुरु हुनेछ । अहिले हरेक एक मिटरमा प्राप्त भएको विवरण विज्ञहरूले परीक्षण गरिरहेका छन् ।

परीक्षणबाट प्राप्त हुने सबै विवरणहरूको अध्ययन र अवलोकन गरेपछि कति परिमाणमा ग्याँस र पेट्रोल छ भनेर पत्ता लाग्ने छ । नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको छ ।

अन्वेषणले सकारात्मक प्रतिफल दिएको खण्डमा प्रशोधन लगायतका अन्य कामहरू सुरु हुनेछन् । यो परियोजनाले नेपालको आर्थिक अवस्था सुधार हुनेमा जिल्लाका नागरिकहरू आशावादी छन् ।

तपाईको प्रतिक्रिया