सुर्खेतका एकलाख बढी बालबालिकालाई दादुरा खोप लगाइदैँ

सुर्खेत । सुर्खेतका नौँ वटै स्थानीय तहमा (जेठ २८) गते आइतबारदेखि खोप अभियान थालिने भएको छ। नौ स्थानीय तहका ९९ वटा वडामा जेठ २८ गतेदेखि असार ५ गतेसम्म दादुरा रुवेला खोप अभियान सञ्जालन गरिने भएको हो।



स्वास्थ्य सेवा कार्यालय सुर्खेत र युनिसेपको संयुक्त आयोजनामा खोप अभियान ‘दादुरा, रुवेला विरुद्धको खोप लगाऔं, बालबालिकाहरुलाई दादुरा, रुवेला हुनबाट बचाऔं’ भन्ने नारका साथ दुई चरणमा सञ्चालन हुनेछ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमका अनुसार पहिलो चरणमा बराहाताल, चिङ्गाड गाउँपालिका, भेरीगङ्गा र लेकबेँसी नगरपालिका तथा दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट गरपालिका, चौकुने र सिम्ता गाउँपालिका खोप अभियान सञ्चालन हुने छ।

दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने स्वास्थ्य सेवा कार्यलयले जनाएको छ।

खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ। ती खोप केन्द्र विद्यालयमा राखिने छ।

जसमा खोप कार्यकर्ता ९६०, स्वंमसेवक ९६० जना, खोप भाएल १५ हजार ५२, ए.डि सिरिन्ज (०.५ मि.ली)का एक लाख ५४ हजार ७८९ र खोपकार्ड एक लाख ४६ हजार ४२२ रहेका छन्।

यस्तै, ६ महिनादेखि ५ वर्षसम्मका लक्षित बालबालिकाको संख्या ३४ हजार पाँच सय ८० र ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाको संख्या एक लाख सात हजार ३६ गरि जम्मा खोप लाउँने लक्षित बालबालिकाको संख्या एक लाख ३९ हजार ४४६ जना रहेका छन्।

सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिए पनि सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ।

सबै अभिभावकहरुले आफ्ना ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई नजिकको विद्यालयमा रहने खोप केन्द्र, स्वास्थ्य संस्थामा लगेर समयमै अनिवार्य खोप लगाउँन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ।

हाल सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। ६५ संकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो।

जसमा वीरेन्द्रनगर र चिङ्गाड दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको गौतमले बताए।

के हो दादुरा रोग ?

दादुरा ‘भाइरस’ बाट हुने अति नै छिटो सर्ने सरुवा रोग हो। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास तथा हाछ्यु गर्दा सर्दछ। दादुराको कारणबाट निमोनिया, झाडापखाला तथा कुपोषणका कारणले शिशुहरुको मृत्यु हुने गर्दछ। यो रोग सबै उमेरका मानिसहरुमा लाग्न सक्छ। बच्चाहरुमा यसले बढी असर गर्दछ। यो रोग खोप नलगाएको बच्चाहरुमा सजिलै र छिट्टै सर्न सक्दछ। तर, यसको विरुद्ध दादुरा₋रुवेलाको खोप दिइयो भने यस रोगबाट बच्न सकिन्छ।

लक्षणहरु

ज्वरो आउनु
शरिरमा विमिरा÷डावर आउनु
आँखा रातो देखिनु
खोकी लाग्नु
नाकबाट सिगान बग्नु
रुघाखोकी लाग्नु

के छ रोकथाम?

१. ९ महिना र १५ महिनाका बच्चाहरुलाई समयमा नै दादुरा–रुबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाएमा यो रोगबाट बचाउन सकिन्छ।
२. ५ बर्ष मुनिका बालबालिकाहरु दादुरा–रुबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा लगेर अनिवार्य नियमित खोप पुरा मात्रामा लगाउने।
३. दादुरा रुबेला भएको बिरामीको सम्पर्कबाट टाढा रहने।
४. ६ महिनादेखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई बर्षको २ पटक बैशाख र कार्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउँने।
५. बालबालिकाहरुलाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरु खुवाउँने र सरसफाइमा ध्यान दिने।

तपाईको प्रतिक्रिया