सन्दीप भने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

काठमाडौं। नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।



उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरिसकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए । फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया