अरब सागरमा बन्याे चक्रवाती तुफान, प्रचण्ड गर्मीमा नेपालमा कति राहत ?

सुर्खेत । लामो समयदेखि वर्षात् नहुँदा मुलुकभर अत्यधिक गर्मी बढेको छ । पूर्वी नेपालको तुलनामा केही दिन पश्चिम नेपालमा अझै अत्यधिक गर्मी बढ्न सक्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएकाे छ । यद्यपी गर्मीले आक्रान्त बनाउँदा जनजीवन प्रभावित बनेको छ भने कतिपय स्थानमा शैक्षिक पठनपाठन नै प्रभावित बनेको छ ।



अरब सागरमा विकसित भएकाे बिपरजाँय नामकाे चक्रवाती तुफान । विस्तारै पश्चिम-उत्तरहुँदै अघि बढिरहेकाे चक्रवातकाे रूट ।

नेपालमा ह्वात्तै गर्मी बढेपनि अरब सागरमा चक्रवाती तुफान बिपरजाँय बन्दा राहत दिन्छ की भन्ने चासो बढिरहेको छ । यहीँ जेठ २३ गतेबाट अरब सागरमा विकसित भएको चक्रवात विस्तारै पश्चिम–उत्तरहुँदै अघि बढ्दैछ ।

यो चक्रवातको बढी प्रभाव समुन्द्री तटिय क्षेत्र भारतका गोवा, मुम्बई, पोरबंदर र पाकिस्तानमा देखिने मौसम पूर्वानुमान महाशाखा मौसमविद गोविन्द झा बताउँछन् ।

‘अहिले अरबको सागरमा तिव्रगतिमा विकास भइरहेको चक्रवात विस्तारै पश्चिमी–उत्तरतर्फ बढीरहेको छ,’ मौसविद् झाले भने, ‘हामीले पनि नजिकबाट नियाली रहेका छौं, केही दिनमा पश्चिम नेपालका केही जिल्लाहरुमा आंशिक रुपमा वदली भएपनि त्यसको ठूलो प्रभाव नेपालमा पर्ने देखिँदैन् ।’

गर्मीले निकै प्रभाव पारेको नेपालमा अरब सागरको चक्रावतले नेपालमा राहत दिइनै हाल्छ अहिले नै पूर्वानुमान गर्न नसकिने झाको भनाई छ । ‘बंगालको खाडीमा पनि चक्रवात विकसितहुँदा विस्तारै भारतहुँदै नेपालतर्फ सरिरहेको छ,’ झाले भने, ‘अरब सागरबाट आउने वायुलाई बंगालको खाडीमा बनेको चक्रवातले पश्चिमतर्फ नै धकेलिरहेको छ । त्यसले पनि अरब सागरको चक्रवात पूर्वतर्फ सर्न सकिरहेको छैन् ।’

दुवै सागरमा वायुको दवावहुँदा नेपालका पश्चिम क्षेत्रमा अझै चार पाँच दिन गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चक्रवात मंगलबारसम्म भारतकाे गाेवा, महाराष्ट्र, गुजरातमा ८३ देखि १२० किलाेमिटर प्रतिघण्टाकाे हावाहुरीसहितकाे वर्षा हुने अनुमान रहेकाे गरिएकाे भारतकाे माैसम विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया