सुर्खेत । कर्णाली प्रदेशका अभिकाँश बालबालिका बालगृहमा बस्ने गरेको पाइएको छ। अभिवाकहरुले राम्रो शिक्षा पाउने आसमा बालगृहमा पठाउने गरेको पाइएको हो।
वीरेन्द्रनगरमा आयोजित छलफलमा सहभागी सरोकारवालाले बालबालिकालाई बालगृह जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकारले नै अभिभावक भएका बालबालिकालाई सिफारिस गर्ने, सम्बन्धित संस्थासँग समन्वय गरेर बालगृहमा पठाउने गरेको उनीहरूको भनाइ छ।
अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेका पाइएको वीरेन्द्रनगर नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयोजक सरला रेग्मीले बताइन्।

उनकाअनुसार कानुनमा बाबुआमा दुवै र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भए पनि बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेका छन्।

राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बर रोकायाले कर्णालीका धेरै बालबालिका नेपालका विभिन्न बालगृहमा पठाइने गरेको बताइन्।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका संयोजक टेकराज आचार्यले सरकारले बालबालिकाको विकासका लागि लगानी बढाउन आवश्यक रहेको बताए।
उनका अनुसार कर्णालीमा कुल जनसङ्ख्याको ४१ प्रतिशत बालबालिका छन् तर सरकारले नीति तथा कार्यक्रममा बालबालिकाको सवाल समेटेको छैन। राम्रो पोषण, शिक्षा पाउने आसमा कर्णालीका धेरै बालबालिका बालगृहमा जाने गरेका छन्।

नेपाल कर्म । २७ जेष्ठ २०८०, शनिबार १४:३१