कृषिमा महिलालाई आत्मनिर्भर बनाउँदै वीरेन्द्रनगर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि महिलालाई कृषि उत्पादनमा जोडेरआत्मनिर्भरसँगै सशक्त बनाउन थालेको छ । मेयरसँग महिला किसान कार्यक्रम अन्तर्गत नगरपालिकाले महिलालाई कृषि उत्पादनसँग जोड्न थालेको हो । महिलालाई कृषि उत्पादनसँग जोडेर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै महिला किसानलाई पनिसशक्त बनाउने पालिकाको लक्ष्य छ ।



सोही अनुसार वीरेन्द्रनगर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने प्रयत्न जारी छ । नगरपालिकाभर हाल करिब १३ हजार बढि किसान छन् । चार आना भन्दा बढि जग्गामा खेती गर्ने सबैलाई नगरपालिकाले किसानको रुपमा लिने गरेको छ । नगरपालिकामा पुरुषको तुलनामा महिलाहरु बढि कृषि पेशामा आवद्ध छन् ।

नगरपालिकाले पनि महिलालाई कृषि उत्पादनसँग जोड्दै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्त्रण गरिरहेको छ । सोही अनुसार नगरपालिकाले शुक्रबार मात्रै एक औपचारिक कार्यक्रमकाबिच २८ वटा मिनि टिलर, ११ वटा पावर टिलर र ३५ वटा पक्कि टनेल वितरण गरको छ ।

प्रति मिनि टिलरको ३५ हजार पाँच सय, पावर टिलरको ८५ हजार र पक्कि टनेल ६४ हजार मुल्यका हुन् । समग्रमा नौ लाख ९४ हजारबराबर मुल्यका मिनि टिलर, नौ लाख ३५ हजार बराबर मुल्यका पावर टिलर र २२ लाख ४० हजार बराबर मुल्यको पक्कि टनेल वितरण गरिएका हन् ।

महिला किसानलाई लक्षित गरी वितरण गरिएका मेसिनरी औजार तथा पक्कि टनेलहरु विभिन्न कृषक समूह, कृषि सहकारी र निजि उद्यमीहरुले प्राप्त गरेका छन् । बाँकी बैकल्पिक सूचिमा रहेका र कृषिमा काम गरीरहेका कृषक समूह, कृषि सहकारी र निजि उद्यमीहरुलाई पनि आगामी दिनमा औजार वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख हेमराज के.सी ले बताए ।

मेसिनरी औजार तथा पक्कि टनेल बुझ्दै महिला किसानहरुले खुसी व्यक्त गरेका थिए । ‘यो कार्यक्रम निकै आवश्यक थियो । नगरपालिकाले पनि महिला किसानका समस्या बुझेर औजार दिएको छ’ वीरेन्द्रनगर ११ कि किसान गिता कुमारी तिमल्सिनाले भनिन्, ‘तर पाएका औजार राम्रोसँग प्रयोग भए नभएको र नगरबाट अनुदान पाएका किसानले खेती गरे नगरेको बिषयमा राम्रोसँग अनुगमन गर्न पनि आवश्यक छ ।’

नगर उपप्रमुख निलकण्ठ खनालले किसानलाई पाएका उपकरण प्रयोग गरी खेती प्रविधिमा फट्को मार्न अनुरोध गर्दै महिला किसानलाई प्राथमिकतामा राखेर आगामी दिन पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।

नगरपालिकाले सबै वडाको माटोको डिजिटल नक्सा समेत तयार पारेको छ । माटोको अवस्था र मलको सिफारीस मात्राको लागि डिजिटल नक्सा बनाइएको हो । यस्तै नगरपालिकाले यूरीया मल हाल्ने सहि समय र तरीका तथा तरकारी र रैथाने बालीको खेतीका लागि बालीपात्रो तयार पार्दै किसानलाई सचेतना फैलाइरहेको छ ।

यसअघि नगरपालिकाले महिलालाई लक्षित गरी अटोरिक्सा, सहकारी, सेक्यूरेटी गार्ड, डेरी उद्योग र मसला उद्योग संचालन र सिलाई कटाई तथा ढाँका बुनाई तालिम सहित अनुदान दिएर सयौंलाईस्वरोजगार बनाएको छ ।

वीरेन्द्रनगरका महिलालाई स्वरोजगारसँगै सशक्त बनाइने नगरप्रमुख मोहनमाया ढकालको भनाइ छ । ‘महिलालाई कसरी उत्पादन र रोजगारसँग जोडेर सशक्त बनाउने भन्नेमा पालिकाको जोड छ’ उनले भनिन्, ‘महिला सशक्त र आत्मनिर्भर भएपछि मात्रै समाज सशक्त र आत्मनिर्भर बन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अघि बढेका छौं ।’

महिलामैत्री नगर निर्माणसँगै महिलालाई उत्पादनमा पनि जोड्नुपर्छ भन्ने मुल उद्देश्य रहेको नगरप्रमुख ढकालले बताइन् । ‘महिलाहरु कृषि पेशामा लाग्नुपर्छ र संभावना पनि छन्, समस्या आए हामी साथमा छौं’ ढकालले थपिन्, ‘सोही अनुसार प्रविधि हस्तान्त्रण गरी सिप विकासपछि महिलालाई उत्पादनमा जोडेका छौं ।’

तपाईको प्रतिक्रिया