छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।



कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ । यसअघि कार्यादेश टुंगो लगाउन पटक पटक बैठक बस्दै आइरहेको छ । तर बैठक निष्र्कषविहिन हुँदै आइरहेको छ ।

आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।

सहमति जुट्न नसके कांग्रेसका आजको प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राख्नेछ । कांग्रेसको अवरोध हटाउन पनि आजको बैठकमा सहमति जुटाउने प्रयास जारी रहने जनाइएको छ ।

कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत हुन नसक्दा सहमति जुट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया