सुर्खेत । आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेटका लागि कर्णाली प्रदेश सरकारका मुुख्यमन्त्री याँमलाल कँडेलले निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन् । मुख्यमन्त्री कँडेलले निजि क्षेत्रको विकास, निर्माण, रोजगारी पर्यटनका बिषयमा महत्वपूर्ण भूमिका रहेको भन्दै निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरेका हुन् ।

कर्णालीको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको त्यसका लागि यहाँका उद्योगी तथा व्यवसायीको राय आवश्यक रहेका कारणले निजि क्षेत्रका उद्योगी तथा व्यवसायीसँग छलफल गरिएको मुख्यमन्त्री कँडेलले बताए ।

‘आगामी आर्थिक वर्षको बजेट तथा निति कार्यक्रम र बजेटका सबै क्षेत्रका सरोकारवालासँग छलफल गरिरहेका छौं,’ उनले भने,‘सरकारले ल्याउने विकास निर्माणमा उपनत्वको भावना नभए त्यसले सार्थकता पाउँदैन् ।’
निजि क्षेत्र सवल बन्दैन तब देशको विकास पनि नहुने भएकाले प्रदेश सरकारले निजि क्षेत्रसँग मिलेर काम गर्ने बताए । ‘देशको विकास लागि निजि क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने,‘कर्णालीको विकास हामी केन्द्र सरकारसँग चार-पाँच वटा माग राखेको छौं ।’

सुर्खेत विमानस्थलको स्तरउन्नती गर्नुपर्ने, सुब्बाकुनादेखि बा“गेसिमलसम्मको बाटो चार लेनबाट छ लेनको बनाउनु पर्ने सुर्खेत वीरेन्द्रनगर बजारलाई स्मार्ट सिटी बनाउनु पर्ने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

‘कर्णालीमा जल, जंगल, पर्यटनका क्षेत्रका धेरै संम्भावना रहेका छन्,’ उनले भने,‘तिनैलाई समेटर हामीले कर्णालीको कनेक्भीटीसहित विकासको माग गरेका छौं ।’ कर्णालीको विकासका लागि विगतदेखि नै आफुहरुले प्रदेश सरकारलाई सुझाव दिँदै आएको र अहिले पनि कर्णालीको विकासका लागि मुख्यमन्त्री समक्ष केही माग राखिएको कर्णाली उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए ।
‘कर्णालीमा उद्योगधन्दा खोल्ने हो भने निजि क्षेत्र र सरकारी साझेदारीमा उद्योग खोलौं । यसले यहाँको रोजगारी सिर्जना पनि गर्छ,’ उनले भने,‘त्यसका लागि निजि क्षेत्र जहिले पनि तयार नै रहेको छ ।’
कर्णालीमा उद्योगधन्दा तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा अहिले पनि बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको त्यसलाई हटाउनका लागि कर्णालीमा नै दक्ष जनशक्ति उत्पादनका लागि पहल थाल्नुपर्ने उद्योग तथा पर्यटन व्यवसायी महासंघका सुर्य थापाले बताए ।
‘आगामी आर्थिक वर्षको बजेटमा कर्णालीमा दक्ष जनशक्ति उत्पादन गर्ने गरि बजेट ल्याउनुपर्छ,’ उनले भने,‘अहिले दक्ष जनशक्ति नहुँदा कर्णालीको आयस्रोत बाहिरिने काम भइरहेको छ ।’
कर्णालीमा अहिले पर्यटन लगाएतका क्षेत्रको प्रचुर संम्भावना भएकाले त्यसका लागि भारत लगाएतका देशमा कर्णालीको पर्यटन क्षेत्रको प्रसारप्रचार आवश्यक रहेको नेपाल च्याम्बर अफ कमर्शका चिन्तामणी शर्माले बताए ।
‘भारतका सेलिब्रिटी ल्याएर हुन्छ कि अन्य केही उपाय लगाएर हुन्छ । भारतीय पर्यटक भित्र्याउन जरुरी रहेको छ ।’ उनले भने,‘अहिले चिनियाँ पर्यटक नेपाल आउने संम्भावना छैन् । पहिलो प्राथमिकतामा भारतीय पर्यटक नै राखौं ।’

नेपाल कर्म । ८ जेष्ठ २०८१, मंगलवार १६:२९