सुर्खेत । कर्णाली प्रदेशभर १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ। सोमबार बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो।
कोहलपुर–सुर्खेत ३३ केभी लाईन प्रशारणको विभिन्न खण्डमा रुख ढलेर विद्युतको तार चुडिँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ।
विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका कार्यालय प्रमुख अशोक लोहनीले बाँकेको कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म पाँच वटा रुखहरु ढलेर विद्युतको तारमा परेको जानकारी दिए।


उनले भने, ‘हिजो हावाहुरी चल्दा १३२ केभी कोहलपुर सवस्टेशनमै समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको थियो। त्यहाँ बनि सकेपछि सुर्खेततर्फ विद्युत लाईन पठाउन आएन्। चिसापानी, बबई, हर्रे र रामघाट लगायतका क्षेत्रमा पाँच वटा रुख ढलेर तार चुँडिएका थिए। अहिले ८ बजेसम्म कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म ढलेका रुख हटाएका छौँ।’
यस्तै, लोहनीले रामघाटसम्म विद्युतको लाइन बनिसकेको बताए। उनले भने, ‘कोहलपुरदेखि रामघाटसम्म समस्याको सामधान भएको छ। यहाँदेखि वीरेन्द्रनगरसम्म कतै समस्या नभए बत्ति छिट्टै सुचारु हुन्छ।’

नेपाल कर्म । ८ जेष्ठ २०८१, मंगलवार ०८:३०