काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले देशभर ‘चाइल्ड स्टन्टिङ’ विरुद्ध लड्न पहल सुरु गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बालबालिकाको सुरक्षित आहार र आवश्यक स्याहारसुसारको अभावमा उनीहरूको उमेरअनुसार शारिरिक तथा मानसिक विकाशमा आउने समस्या पाकिस्तानका लागि स्वास्थ्य चुनौतीको विषय हो।
प्रधानमन्त्री सरिफले बालबालिकाको उत्कृष्ट वृद्धि र विकास पाकिस्तानको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण रहेको बताउँदै ‘स्टन्टिङ’ ले उनीहरूको स्वभाविक विकासलाई प्रभावित पार्ने र यसलाई रोक्न राष्ट्रव्यापी सचेतना अभियान आवश्यक रहेको बताए।

उक्त बैठकमा आधारभूत स्वास्थ्य सुविधा र अति आवश्यक पौष्टिक तत्वको अभावका साथै दूषित पानीको प्रयोगका कारण पाकिस्तानमा ठूलो सङ्ख्यामा बालबालिकाको वृद्धि ठप्प हुने जोखिममा रहेको जानकारी दिएका थिए।

सरिफले यी समस्याहरूलाई सम्बोधन गर्नका लागि तुरुन्तै बृहत् राष्ट्रिय योजना प्रस्तुत गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।
गत वर्षको विश्व बैङ्कको प्रतिवेदनअनुसार पाकिस्तानका पाँच वर्षमुनिका ४० प्रतिशतभन्दा बढी बालबालिकामा स्वाभाविक शारिकि तथा मानसिक विकास नभएको पाइन्छ। दक्षिण एसियाली मुलुकमा यो समस्या औसत ३१ प्रतिशत बालबालिकामा रहेको छ।
स्टन्टिङ मस्तिष्कको विकास र शारीरिक वृद्धिसँग सबैभन्दा नजिकको सम्बन्ध हो। यसले बालबालिकामा दीर्घकालीन मानसिक र शारीरिक प्रभाव पार्न सक्छ, जसले गर्दा उनीहरूलाई पूर्ण जीवन जिउने क्षमताबाट वञ्चित गर्नसक्ने विश्व बैङ्कले हालै सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपाल कर्म । ६ जेष्ठ २०८१, आईतवार १३:५१