विनाेद गिरीलाई गाेली प्रहार गर्न लगाएकाे आरोप लागेका मुख्य योजनाकार सन्तोष गिरी पक्राउ

सुर्खेत । नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि गोली प्रहार गर्न लगाउने आरोप लागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । विनोदमाथि गोली प्रहार गर्न लगाउने मुख्य योजनाकारको आरोप लागेका सन्तोष गिरीलाई काठमाडौं प्रहरीको सहयोगमा भक्तपुरबाट पक्राउ गरिएको हो ।



गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याएर अनुसन्धान भइरहेकाे  कार्यालयले जनाएको छ ।

सुर्खेत जिल्ला अदालतले बैशाख ३ गते भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाइ पूर्पक्षका लागि कारागार चलान गरिसकेकाे छ । रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाकाे मुद्दा अदालतमा दर्ता गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया