महेन्द्रनगर । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो।

कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँको प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उनीहरुलाई पढ्न सहयोग गर्दै आएको छ।

खेलाडीको नियमित प्रशिक्षणका दौरान उनीहरुको खानपिनको व्यवस्थापनमा सहयोग गर्न महेन्द्रनगरस्थित सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायत सामाग्री सहयोग गरेका हुन्।
श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण गरे।

सो अवसरमा बाहिनीपति सहायक रथी थापाले खेलाडीलाई अनुशासित, लगनशील र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्व र नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे।
नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताए।
हाल प्रशिक्षण केन्द्रमा झण्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन्। १५ खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दै आएका छन्।

नेपाल कर्म । ४ जेष्ठ २०८१, शुक्रबार १६:४१