सुर्खेत। मुगुमा उमेर नपुग्दै बच्चा जन्माउनेको संख्या बढ्दै गएको पाइएको छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माउनेको पाइएको हाे । आर्थिक वर्ष २०८०र८१ को तथ्याङ्क अनुसार जिल्ला अस्पताल मुगुमा ३३ प्रतिशत किशोरीले २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको छ ।

एक वर्षको अवधिमा जिल्लाको सोरू, खत्याड, मुगमकार्मारोङ, छायानाथ रारा नगरपालिकाका साथै जिल्ला अस्पताल मुगुमा जाँच गराउन आएका कुल एक हजार ३१६ गर्भवतीमध्ये ३५० जना उमेर नपुग्दै गर्भवती भएको पाइएको छ । मुगमकार्मारोङ गाउँपालिकाको बर्थिङ सेन्टरमा १०६ जना गर्भवती भएकामध्ये ११ जना किशोरी २० वर्षमुनिका रहेका छन् । सोरू गाउँपालिकामा २३८ गर्भवती भएकामध्ये ५१ जना २० वर्षमुनि रहेको पाइएको छ ।


छायानाथ रारा नगरपालिकाको बर्थिङ सेन्टरमा ६२५ गर्भवती भएकामध्ये १० जना महिलाले उमेर नपुग्दै बच्चा जन्माएका छन् । खत्याड गाउँपालिकामा ३४७ गर्भवती भएकामध्ये ६२ जनाले उमेर नपुग्दै २० वर्षमुनि बच्चा जन्माएको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।
जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख कमल ढुङ्गानाका अनुसार जिल्लामा सूचीकृत बर्थिङ संस्थाको तथ्याङ्कमा उमेर नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या धेरै देखिए पनि जिल्ला अस्पतालमा छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको हो ।

नेपाल कर्म । ४ जेष्ठ २०८१, शुक्रबार ११:५२