२८ सय मेगावट विद्युत उत्पादनकाे लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताएका छन्। बिहीबार काठमाडौंमा भएको प्री–बजेट छलफल कार्यक्रममा प्रवन्ध निर्देशक घिसिङले यस्तो बताएका हुन्।



उनले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा २ हजार ८ सय विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले जलविद्युत व्यवसायीहरुका माग प्रति प्राधिकरण सकारात्मक रहेको बताए।

उनले निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगिरहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए। घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरु निर्माण समयमा सम्पन्न सहजीकरण गर्ने विषयमा सकारात्मक रहेको बताए।

उनले प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर ३ हजार ५ सयको प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताए। उनले राजश्वको विषयले गर्दा विद्युतीय सवारीसाधनमा भएको प्रमोसनले अन्त कतै जाने खतरा देखिएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए।

उनले नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण विद्युत खपतमा राम्रो पिकअप लिएको बताए। उनले सवारी साधनको प्रमोसनले नेपालमा ग्रीन इनर्जीको खपतलाई थप सपोर्ट गरेको पनि बताए।

उनले भने, ‘१० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौँ। त्यो पूरा गर्न निजी क्षेत्र नै हो । नेपालको ऊर्जा क्षेत्रमा अहिलेसम्म निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुभएको छ। प्राधिकरण निजी क्षेत्रलाई सहजिकरण गर्न संधै तयार छौं । विद्युत प्राधिकरणलाई पनि समस्याहरु छन्। प्राधिकरण राम्रो भएन भने व्यवसायीहरु पनि समस्यामा पर्छन्।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताए।

उनले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्याजउने भन्ने हिसाबले नीति लिनुपर्ने बताए। उहाँले दश वर्षलाई ऊर्जा दशक र ऊर्जा संकटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो रहेको बताए। उनले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि निजी क्षेत्रले प्रवेश पाउनुपर्ने बताए।

उनले निजी क्षेत्रले प्रशारण लाइन निर्माणमा पनि महत्वपूर्ण भुमिका खेल्नसक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशिय प्रशारण लाइन निर्माण गर्न पाउनुपर्ने उल्लेख गरे। उनले निजी क्षेत्रले प्रसारण लाइन निर्माण र व्यापारको अवसर पाए विद्युतको विश्वसनीयता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भुमिका खेल्नसक्ने दाबी गरे।

तपाईको प्रतिक्रिया