कृषि मन्त्रीबाट किन बारखास्तीमा परे शाह ?

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई बरखास्त गरेका छन् । बुधबार मुख्यमन्त्री कँडेलले मन्त्री शाहलाई हटाएर कृषि मन्त्रालय आफ्नो मातहतमा ल्याएका हुन् ।



शाह १८ बैशाखमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियूक्त भएका थिए । तर, आफूलाई मन्त्रालय दिने विषयमा मुख्यमन्त्री कँडेलले बाइपास गरेको भन्दै शाहले सोही दिन प्रदेश प्रमुखको कार्यालयले तय गरेको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका थिए ।

मुख्यमन्त्री कँडेलले सरकार विस्तारका लागि प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराएका थिए । सोही बमोजिम प्रदेश प्रमुखको कार्यालयले शपथ कार्यक्रमको तयारी थालेको थियो ।

लामो समयको रस्साकस्सीपछि कँडेलले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट सिफारिस तीन मन्त्री र एमालेबाट सहभागी दुई मन्त्रीसहित एक राज्यमन्त्रीलाई शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका थिए ।

मुख्यमन्त्री कँडेलको पत्रमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गहादुर रावतको नाम उल्लेख थियो ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विश्वकर्माको नाम उल्लेख थियो ।

मन्त्रिको शपथ लिन तम्तयार भएका माओवादीका मन्त्रीका सामु एमालेका मन्त्रीहरू भने बेखबर जस्तै देखिन्थे । किन भने एमालेले शपथको पूर्वसन्ध्यासम्म मन्त्री हुनेलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा जानकारी गराएको थिएन ।

एमालेबाट विनोदकुमार शाह, शेरबहादुर बुढा र राज्यमन्त्री गमता विकलाई शपथग्रहण गर्न आउन मुख्यमन्त्री कँडेलले भनिसकेका थिए । सोही बमोजिम नेताहरू मन्त्रीको शपथ लिने तयारी गरिरहेका थिए । जसमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीको शपथ लिने तयारी शाहले गरिरहेका थिए ।

सुरुमा गोप्य राखिएको मन्त्रीहरूको नामावली प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक ग¥यो । उक्त नामावलीमा भौतिक मन्त्रीको शपथ लिने तयारी गरेका शाहको नाम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा थियो । यसबाट रुष्ट बनेका उनले शथप ग्रहण कार्यक्रम नै बहिष्कार गरे ।

पार्टीमा वरिष्ठताका आधारमा आफूलाई अपमान गरिएको भन्दै शाहले कृषिमन्त्रीमा शपथ लिन इन्कार गरे । निर्धारित समयमा सुरु भएको शपथग्रहण कार्यक्रममा शाह उपस्थित नभएपछि मन्त्रालयमा स्वागत गर्न तम्तयार भएका कर्मचारी छक्क परेका थिए ।

मुख्यमन्त्री कँडेलले शाहलाई मन्त्रीमा शपथ लिन खबर गरेको भए पनि कुन मन्त्रालय दिने भन्ने विषयमा प्रदेश प्रमुखको कार्यालयले नाम सार्वजनिक नगरुन्जेल केही भनेका थिएनन् ।

सपथ बहिस्कार पश्चात काठमाण्डौं पुगेका शाह मन्त्रालयको जिम्मेवारीमा आउने छाट नदेखेपछि मुख्यमन्त्री कँडेलले उनलाई बरखास्त गरी मन्त्रालयको जिम्मेवारी आफ्नो मातहतमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया