भुकम्प प्रभावितहरुका लागि राहत वितरण

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका वडा – ६ मा आज भुकम्प प्रभावित ७०० भन्दा बढी परिवारका लागि १३०० भन्दा बढी सेट हरुमा राहत वितरण गरिएको छ ।



प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो । वडा अध्यक्ष वीरेन्द्र खड्काको अध्यक्षतामा नलगाड नगरपालिका वडा न ६ ले एक औपचारिक कार्यक्रम गरि वितरण सुरु गरेको हो ।

वीरेन्द्र प्राविका ७८ जना र कालिका आधारभूत विद्यालय का १२६ जना बालबालिकाहरुका लागि करिब ३५०० बराबरको विद्यालय कीट अभिभावकमार्फत वितरण गरिएकाे स्याक नेपालका कार्यसमिति सदस्य अकबर खानले जानकारी दिए ।

उनकाअनुसार घर परिवारका लागि सरसफाई लगायतका अतिआवश्यक सामान तीन हजार ४७ रुपैया बराबरको एकसय परिवारलाई वितरणसमेत गरिएकाे छ ।

साथै गर्भवती तथा सुत्केरीहरूका लागि पोषणयुक्त पौस्टिक आहारसहितको तीनहजार ११० रुपैयाँ बराबरको २५० जनालाई वितरण गरिएकाे छ ।

जेष्ठ नागरिक तथा परिवारका लागि बलान्केट, सुईटर, टोपी र अन्ने लत्ताकपडा सहित नाै हजार ५८२ रुपैयाँ बराबरको २५० घरपरिवार वितरण गरिएकाे खानले बताए ।

भुकम्पले क्षती भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री सहितको २६०० बराबरको २५० सिकर्मी डकर्मीहरुका लागि वितरण गरिएको स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दले जानकारी दिए ।

महिला तथा किशोरी हरुका लागि सरसफाइ लगाएत अतिआवश्यक ३८८१ रुपया बराबरको १०० जनालाई वितरण गर्ने कार्यतालिका रहेकाे चन्दले बताए ।

जाजरकोट तथा रुकुमपश्चिम का विभिन्न पालिकाहरुमा वितरण गरिनेछ । २०८० कार्तिक १७ गतेको भुकम्पले जाजरकोट र रुकुमपश्चिममा १५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौं को संख्यामा प्रभावित भएका छन् ।

जाजरकोट र रुकुमपश्चिममा विगतदेखि नै प्लान इन्टरनेसनलसंगको साझेदारीमा स्याक नेपालले राहत तथा पुन निर्माणको काम गरिरहेको स्याक नेपाल का कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।

यसअघि विभिन्न ठाउँमा अस्थायी सिकाई केन्द्र, सामुदायिक खानेपानी, जीविकोपार्जनमा पनि काम गरिरहेको आचार्यले बताए । राहत वितरण कार्यक्रममा प्लान इन्टरनेसनलका रमेश घिमिरे, स्याक नेपालको कार्यसमिति सदस्य खान र कार्यपालिका सदस्य कुमारी बिक लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया