नेपालले अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले हरायो

काठमाडौं । विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ।



पार्क हिल मैदानमा मंगलबार भएको खेलमा भोलक्यानोजविरुद्ध नेपाल ४ विकेटले विजयी भएको हो। घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे। दीपेन्द्रसिंह ऐरीले ५२ तथा सोमपाल कामीले ३२ रन बनाए।

एक समय हारको सँघारमा पुगेको नेपाललाई जित दिलाउन दीपेन्द्र र सोमपालले विजयी इनिङ्स खेले। अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा ४ छक्का प्रहार गर्दै एकै ओभरमा २६ बनाए।

अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले १ छक्का र १ चौकाको मद्दतमा १२ रन जोडे। नेपालले विनवार्ड्स भोलक्यानोजसँगै भोलि र शनिबार गरी थप २ अभ्यास खेल खेल्ने छ।

तपाईको प्रतिक्रिया