काठमाडौं । जबर्जस्ती करण मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला २६ पक्षका कानुन व्यवसायीको बहस सकिएको छ ।

अहिले लामिछाने पक्षका कानुन व्यवासायीले जवाफी बहस गरिरहेका छन् । यसअघि गौशाला २६ का निजी वकिलले गरेका तर्क काट्दै उनीहरूले लामिछानेलाई सफाइ दिनुपर्ने जिकिर गरेका छन् ।


लामिछानेका तर्फबाट अधिवक्ताद्वय सविता भण्डारी र सरोजकृष्ण घिमिरेले जवाफी बहस गरिरहेका छन् । उनीहरूले ५० मिनेटभित्र आफ्नो बहस सक्नुपर्नेछ । त्यसपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले मुद्दालाई फैसला प्रक्रियामा लैजानेछ ।
१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा ८ सन्दीपविरुद्ध वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन् । उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । पीडित पक्षले गौशाला २६ नाबालिग नै रहेकाले त्यसैबमोजिम थप सजाय माग गर्दै २ चैत २०८० मा पुनरावेदन गरिएको थियो ।

नेपाल कर्म । २ जेष्ठ २०८१, बुधबार १५:४०