सुर्खेत । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई कर्णाली प्रदेश स्तरीय अभिमूखीकरण गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को आयोजनामा मंगलबार अभिमुखीकरण गरिएको हो।
परिषद्ले कर्णाली प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई ऐन नियम र आचार संहिता सम्बन्धी अभिमूखीकरण दिएको हो।


उक्त कार्यक्रममा परिषद्का रजिस्ट्रार पुर्णबहादुर बुढाले परिषद्का काम कारवाहीका बारेमा जानकारी गराएका थिए ।
बुढाले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ को परिच्छेद २ को दफा (३) ले दिएको अधिकार वमोजिम सोही ऐनको दफा (५) को उपदफा (६) बमोजिम यस परिषद्को समिति गठन नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०८० साल कार्तिक १६ गतेको निर्णय अनुसार समितिले आफ्ना गतिविधिहरु संचालन गरिरहेको बताए ।

उनकाअनुसार परिषद्मा नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका र हुन योग्य जनशक्ति बाहेकका पशु विज्ञान, मत्स्य विज्ञान र दूग्ध विज्ञान क्षेत्रका ग्रामिण पशु स्वास्थ्य कार्यकर्तादेखि उच तहका विषय विशेषज्ञ सम्मका सम्पूर्ण प्राविधिक जनक्तिलाई दर्ता र नियमन गर्न परिषद् गठन भएको हो।
यस्तै, संघीय ऐनको परिधिभित्र रहेर प्रदेश कानुन बनेमा प्रदेश कानुनले तोकेको निकायले पनि उक्त जनशक्ति दर्ता गर्न सक्ने व्यवस्था रहेको रजिस्ट्रार पुर्णबहादुर बुढाले बताए।
यस्तै, कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले पशु स्वास्थ्य क्षेत्रमा कर्णालीका युवाको सहभागिता देख्दा गौरव महसुस भएको बताए । उनले भने, ‘कर्णाली आर्थिक, सामाजिक, राजनीतिक र आधुनिक समाजका हिसावले महत्वपूर्ण रहेको प्रदेश हो। देशको अर्थतन्त्र बढाउनुमा कृषि र पशुले ठूलो योग्दान गरेको छ।’
यस्तै, मन्त्री केसीले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवालाई गुणस्तरीय बनाउनु पर्ने, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता र पशु सेवा व्यवसायीहरुको दर्ता र नियम गर्ने उदेश्यका साथ स्थापना भएको परिषद्ले थप अग्रसर भएर काम गर्नुपर्ने बताए।

भावना राेकाया । १ जेष्ठ २०८१, मंगलवार १७:५१