सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन ।
सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँगको छलफलमा मुख्यमन्त्री कँडलले विकास साझेदारले उच्च प्राथमिकतामा राखेपनि अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका हुन् ।


‘हाम्रा सहयोगी दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महशुस गनुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महशुस गर्न सकेको अवस्था म देख्दैन,’ छलफलमा कँडेलले भने ।
अवसरको खोजीमा कर्णालीका गाँउहरु रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीको लागी विदेशिने परिस्थितीको अन्त्य हुनुपर्ने बताए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदार संस्थाहरुको विगतदेखिको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए विद्यमान नीतिसमेत बदल्नप्रति पुर्नविचार गर्नुपर्ने धारणा राखे ।
जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले संभव नहुने भन्दै मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकिकृत रुपमा लैजान सके यसले ठूलो उपलब्धी हासिल हुने बताउदै मुख्यमन्त्री कडेलले साझेदार संस्थाले गरेका कामले जनतालाई अनुभुती गराउन सक्नुपर्नेमा जोड दिए ।

नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १९:२८