सुर्खेत । जुम्लाको सदरमुकाम खलङ्गा र कालिकोटको मान्म बजारमा २ दिने वातावरणीय अध्ययन सम्बन्धी तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र युएसएआइडी जल जङ्गलको संयुक्त आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रम वैशाख २७ र २८ गते जुम्लाको खलङ्गामा र ३० र ३१ गते कालिकोटको मान्ममा भएको थियो । कार्यक्रममा जुम्ला र कालिकोटका जिल्ला समन्वय समितिका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, डिभिजन वन कार्यालय, जिल्ला जलाधार व्यवस्थापन कार्यालय, सामुदायिक वन महासङ्घ, क्रियाशील पत्रकार एवम् अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव कमलराज अर्याल, युएसएआइडी जलजंगल परियोजना वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाही र वातावरणविद् निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए । सहभागीहरूले जैविक विविधता एवम् प्रकृति संरक्षणका कार्यक्रमहरू सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको औँल्याएका थिए । उनीहरूले स्थानीय तहका जनप्रतिनिधिहरूले कर्णाली अन्य प्रदेशको तुलनामा जैविक विविधताले भरिपूर्ण प्रदेश भएपनि कतिपय विकास निर्माणका कार्यहरू वातावरण अध्ययनविनै गर्नाले वन संरक्षण र दिगो विकासमा थप चुनौती रहेको बताए । विकास निर्माणका कार्यहरू गर्दा वातावरणीय पक्षहरू महत्त्वपूर्ण भूमिका हुने हुँदा उक्त कुरालाई पनि ध्यान दिन सहभागीहरूलाई जानकारी दिइएको थियो ।


नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १८:५१