सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा चर्चित हङ्गकङ बजार अब जुम्लारोडमा सञ्चालनमा आउने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६ हटिया क्षेत्रमा सञ्चालित हङ्गकङ बजार अब जुम्लारोडमा रहेको बजाज सोरुमको आडैमा सञ्चालन हुन लागेको हो ।

अब हङ्गकङ बजार वीरेन्द्रनगर नगरपालिका–३ जुम्ला रोडस्थित बजाज सोरुमको आडैमा सञ्चालनमा गर्न लागिएकाे छ । ग्राहकहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै अबको एक महिनाभित्रै बजार पूर्ण रुपमा सञ्चालन हुने बजारका व्यवस्थापक भुवन ज्ञवालीले बताए ।


‘जेठको सुरुवातसँगै बजारका लागि चाहिने भौतिक संरचना निर्माण थालनी हुन्छ,’ उनले भने । यसअघि हटिया क्षेत्रमा सञ्चालित बजार क्षेत्र वीरेन्द्रनगर नगरपालिकाले आफ्नो मातहतमा लिएपछि उक्त बजारमा व्यापार गरिरहेका व्यापारीले जुम्लारोडमा रहेको बजाज सोरुमको आडै जग्गा भाडामा लिएर व्यापार सुरु गर्न लागेका हुन् ।
सुर्खेतमा सस्तो र सुपथ मुल्यमा कपडा बिक्री गरिरहेका हङ्गकङ बजारका व्यापारिहरुले नयाँ स्थानबाट थप सेवा र सुविधासहित सेवा दिन लागेको बताएका छन् । हङ्गकङ बजारले २० वर्षदेखि वीरेन्द्रनगरमा सेवा दिँदै आएको छ । हङ्गकङ बजार सञ्चालन हुन लागेको नयाँ स्थानमा ५० बढि व्यापारिक प्रयोजनका सटरहरु निर्माण हुनेछन् ।

नेपाल कर्म । ३१ बैशाख २०८१, सोमबार १७:५३