काठमाडौँ । काठमाडौँमा जारी ललितपुर मेयर्स कपमा सुदूरपश्चिम प्रदेशले विजयी शुरूवात गरेको छ। टियू क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा आयोजक टोली ललितपुर मेयर्स ११ लाई डिएल मेथडमा १६ रनले स्तब्ध पार्दै सुदूरपश्चिम विजयी भएको हो।

जितका लागि पाएको १२४ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको क्षतिमा ४५ रन बनाउँदा पानी परेपछि डिएल मेथडका आधारमा नतिजा निकालेको थियो।

ललितपुरका लागि कप्तान पूजा महतोले १४ र सरस्वती जीएमले १२ रन बनाइन्। सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले १र१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो।

जसमा प्लेयर अफ द म्याचसमेत भएकी कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० र कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाइन्।
ललितपुर ११ का लागि आरती महतो र कृतिका मरासिनीले समान २.२ विकेट लिए।
वैशाख २९ गते शुरू भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष ४ टोली र आयोजक ललितपुर ११ गरि ५ टोलीको सहभागिता रहेको छ।
राउन्ड रोबिन लिगमा हुने यो प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

नेपाल कर्म । ३० बैशाख २०८१, आईतवार १६:४४