कर्णाली हाफ म्याराथनको उपाधि आर्मी र एपीएफकाे पोल्टामा

सुर्खेत । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि विभागिय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ। शनिबार वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथन पुरुषतर्फ र महिलातर्फको उपाधि आर्मी र सशस्त्रको पोल्टामा परेको हो।



पुरुषतर्फ उपाधि जितेका नेपाल आर्मीका नरेन्द्र रावलले एक घण्टा ११ मिनेट २५ सकेण्डमा निर्धारित दुरी पार गरी उपाधि चुम्न सफल भएका थिए।

पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ सेकेण्ड र एक घण्टा १३ मिनेट २३ सेकण्डमा निर्धारित दुरी पार गरी नेपाली सेनाकै रामजी बस्नेत द्वतिय र सशस्त्र प्रहरीका श्रीकेश राई तृतिय स्थान हासिल गरेका हुन्।

यस्तै, महिलातर्फको २१ किलोमिटर दौडको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन्। भण्डारीले १ घण्टा २८ मिनेट १७ सकेण्ड निर्धारित दुरी पार गरी उपाधि चुम्न सफल भएकी हुन्। भण्डारीले एथेलेक्टिसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा थुप्रै पदक हात पारेकी छन्।

यस्तै, प्रतियोगितामा नेपाली सेनाकी सिर्जना पाण्डेले दोस्रो स्थान हाँसिल गर्दा जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थानमा चित्त बुझाइन्। पाण्डेले निर्धारित दुरी एक घण्टा ३२ मिनेट ४३ सकेण्डमा पार गर्दा रावतले एक घण्टा ३६ मिनेट ४० सकेण्ड लगाएकी थिइन्।

प्रतियोगितामा पहिलाे, दोस्रो, तेस्रो  विजयी भएका पुरुष तथा महिला खेलाडीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले  क्रमश ५५ हजार, ३० हजार र २० हजार नगदसहित ट्रफि र मेडलले सम्मान गरेका थिए।

यस्तै, पाँच किलोमिटर छात्र दौडतर्फ प्रथम अजय विश्वकर्मा दोस्रो नवराज बानियाँ, तेस्रो रमेश बुढा र छात्रातर्फ प्रथम बिमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी र लक्ष्मी शाहीले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए।

विजयी छात्र तथा छात्राहरुलाई क्रमश १० हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम भएका आठ वर्षीय बालकलाई प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको थियो। प्रतियोगितामा झण्डै एक हजार बढी धावकहरुको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, केएल दुगड ग्रुरुपको ज्ञान खाद्यान्नको टाइटल स्पोन्सरमा रेस नेपालले प्रतियोगिता आयोजना गरेको थियो। म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो।

दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने तथा आसन्न १०औँ राष्ट्रिय खेलकुदको प्रवद्र्धधन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया