सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले शनिबार आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताएका हुन् ।

कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए । कर्णालीको विकासलाई माग आकांक्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाएर काम गरिने उनको भनाइ छ ।


सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए । कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उनको भनाइ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रूपमा पनि यसलाई लिइएको उनले दाबी गरे । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उनको भनाइ छ ।

नेपाल कर्म । २९ बैशाख २०८१, शनिबार १२:३५