सुर्खेत । वीरेन्द्रनगर(११ धुलियाबिटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बादी समुदायका छात्राहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । लभ एण्ड होप नाम गैरसरकारी संस्थाको सहयोगमा विपन्न बादी समुदायका २७ छात्रालाई पोशाक, जुत्ता, झोलासहितका शैक्षिक सामग्री वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले हस्तान्तरण गरेका हुन् ।

लभ एण्ड होप नेपालले विपन्न वर्ग विशेष गरी मानव बेचबिखनको उच्च जोखिममा रहेका समुदायका बालबालिकाको संरक्षण गर्दै आएको छ । संस्थाले झण्डै तीन दशकदेखि झुप्रा खोलाको गिट्टी र बालुवाबाट जीवन निर्वाह गरिरहेका बादी समुदायका बालिकाहरुको सम्पूणर् विद्यालय खर्च व्यहोर्दे आएको छ । सोही बमोजिम शुक्रबार बादी छात्राहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।


शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसीले आर्थिक र सामाजिक रुपले पछाडि पारिएकाहरुको शैक्षिक अधिकार संरक्षणमा संस्थाले खेल्दैै आएको भुमिका प्रशंसा गर्न लाएक रहेको बताए ।
यस्तै, विद्यालयका प्रधानाध्यापक पूणर्प्रसाद पौडेलले संस्था कै कारण बादी समुदायका बालबालिका शिक्षाको पहुँचमा पुगेको तथा बालबिवाह रोकिएको बताए । आफ्नो विद्यालयमा ३५ प्रतिशत विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उल्लेख गर्दै प्रधानाध्यापक पौडेलले आगामी दिनमा ति बालबालिकालाई पनि समेट्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । संविधानले शिक्षालाई मौलिक हकका रुपमा व्याख्या गरेपनि राज्यले यसतर्फ ध्यान नदिदा विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहँुचमा आउनै मुस्किल रहेको सरोकारवालाहरु बताउँछन् ।

नेपाल कर्म । २८ बैशाख २०८१, शुक्रबार १६:५७