सुर्खेत । विमानस्थल नियमित नभएपछि मान्म कोडबाडा केबुलकार स्थानीयलाई आशा देखाउन थालिएकाे छ । केबुलकारको सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । तर सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको हाे ।

नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सदरमुकाम मान्म पुग्न छिटो छरितो र सहज होस् भन्ने हेतुले निर्माण गर्न लागिएको केबुलकार अहिलेसम्म अध्ययनमै सीमित भएको हो ।
मान्म कोडबाडा केबुलकार बने नेपालकै प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिर जान सहज हुने भए पनि केबुलकार निर्माणमा ढिलासुस्ती भएको छ । नहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले २०६४ सालदेखि केबुलकारको कुरा उठेको भए पनि सम्भाव्यता अध्ययन गर्न मात्रै १५ वर्ष लागेको स्थानीयले बताए ।
पूर्वाधार विकास कार्यालय कालिकोटका अनुसार केबुलकार निर्माणमा एक अर्ब १४ करोड चार लाख ६५ हजार आठ सय ९० रूपियाँ लागत अनुमान गरिएको छ । अहिले यस वर्ष पाँच करोड रूपियाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।
नरहरिनाथको कोडबाडा–१ मा सुनथराली विमानस्थल निर्माण गरिएको झण्डै चार दशकपछि सम्पन भए पनि जहाज उडानमा कुनै सुरसारनै छैन । केबुलकार निर्माण भए पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ ।

नेपाल कर्म । २७ बैशाख २०८१, बिहीबार १८:२७