सल्टियाे मदन भण्डारी राजमार्गमा पर्ने हमाल डाँडाको विवाद

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत भेडाबारी–धुलियाबिट सडकखण्डको गुमीमा देखिएको विवाद अन्तत समाधान गरिएको छ । गुर्भाकोट नगरपालिका–१३ गुमी स्थित हमाल डाँडामा सडकको विषयमा लामो समयदेखि विवाद उत्पन्न भएपछि सर्वपक्षिय छलफलले समस्या समाधान गरेको हो ।



यसअघि गरिएको सडकको डिपिआरमा सडक निर्माण गर्दा वस्ती नै खाली गर्नुपर्ने अवस्था थियो । स्थानीय हिरा रानाले डिपिआर अनुसार नै सडक निर्माण गर्नुपर्ने भन्दै अदालतसम्म पुगेपछि राजमार्गको चार सय मिटर सडक निर्माण अन्यौल बनेको थियो । विवाद मिलाउन मदन भण्डारी राजमार्ग योजना कार्यालयले पटक–पटक सम्वाद र छलफल गरेको हो ।

तर विवाद समाधान नभएर झनझन बल्झिएपछि अन्तत नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटासहितका राजनीतिक दलहरुले समस्या समाधान गरेका हुन् ।

‘डिपिआर अनुसार सडक निर्मँण गर्दा १५ बढी घरहरु नै उठाउनु पर्ने अवस्था थियो,’ कार्र्यालयका प्रमुख शम्भु आचार्यले भने, ‘सर्वपक्षिय सहमतिमा हाल कायम रहेको सडकबाट निर्माण गर्ने गरी विवाद मिलाएका छौं ।’

परम्परागत रुपमा ०४३–०४४ सालदेखि कायम रहेको लगत कित्ताको सार्वजनिक सडक हमाल डाँडादेखि कालिका मन्दिरसम्मको खण्डलाई मदन भण्डारी राजमार्गको मुख्य रेखाङ्कन कायम गर्नमा स्थानीयहरु सहमत भएका छन् ।

हमाल डाँडादेखि कालिका मन्दिरसम्म डिपिआर भएको सडकतर्फको बस्तीक लागि सिङ्गल लेनको कालोपत्रे सडक कार्यालयले गर्नेछ । समस्या समाधानका लागि कर्णाली प्रदेश सभाकी सांसद बलिमाया बुढा, नेकपा एमाले सुर्खेतका अध्यक्ष देवकोटा र गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनसहित हमाल डाँडा पुगेका थिए । यो क्षेत्रको समस्या समाधानसँगै राजमार्गको पूर्वी खण्डको विवाद सकिएको छ ।

धुलियाविटदेखि भेडावारीको कुल ३५ किलोमिटरमध्य हालसम्म १५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । बाँकी १४ किलोमिटर असार अगाडी नै कालोपत्रे गरेर सकिने कार्यालयका प्रमुख आचार्यले बताए । गंगटे बजारदेखि धुलियाविटसम्मको सडक यो आर्थिक वर्षमा कालोपत्रे सम्पन्न नहुने तर बेस विछ्याउने काम असार अगाडी नै सकिने उनको भनाई छ ।

आगामी पुससम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको भए पनि एकाधबाहेक सबै काम असार मसान्तसम्म सक्ने लक्ष्य अनुरुप निर्माणको काम जारी राखेको प्रमुख आचार्यले बताए । यो खण्डमा कुल १ अर्ब ३ करोड २३ लाख भ्याटसहित बजेट रहेको आयोजना निर्माणको जिम्मा कालिका केएस विन्दासी कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

यो सडकमा १२ वटा पक्की पुलमध्य हालसम्म ९ पुलको ढलान भएको छ । असारसम्म ११ पुल निर्माण सकेर सञ्चालनमा आउनेछन् । वेतनी खोलाको पुलको काम मात्रै बाँकी रहनेछ ।

भित्री मधेशसहित चुरे क्षेत्रका जिल्लाको समृद्धिको ढोका मानिएको याे सडकले सुर्खेतकाे भेडावारी-धुलियाविट-बड्डीचाैर-गुटु-वेतान-लगामहुँदै डाेटी जाेडिन्छ । सुर्खेत पश्चिममा पर्ने सडक तीन खण्डमा काम भइरहेको छ ।

बड्डीचौर–खम्बगाडे प्रदेश सरकार, खम्बगाडे–बावियाचौर–विद्यापुर सडक डिभिजन र विद्यापुर–गुटु–विजौरा–बल्दे मदन भण्डारी राजमार्ग योजना कार्यालयले निर्माण गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया