सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारीहरु बुधबार विहान डोजर लिएर निस्के । उक्त टोली ११ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–६, को घण्टाघर पुग्यो । नगरपालिकाको पूर्व सूचना बमोजिम सरकारी जग्गामा बनेका संरचना भत्काउन नगरपालिकाको टोली डोजर र ट्रिप्पर लिएर त्यहाँ पुगेको थियो ।
नगरपालिकाले बुधबारलाई अन्तिम मिति दिएर सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भाडा लिएर बनाइएका संरचनाहरु भत्काउन निर्देशन दिएको थियो । उक्त निर्देशनमा यी जग्गामा विभिन्न व्यक्तिले भाडामा लिएर व्यवसायिक प्रयोजनका लागि बनाइएका संरचनाहरु खालि गर्नुपर्ने अन्यथा नगरपालिकाले डोजर प्रयोग गरेर भत्काइ दिने चेतावनी दिएको थियो ।
पुनः सचेतनाका लागि नगरपालिकाले सोमबारबाट नगर क्षेत्रमा माइकिङ्ग गर्दै संरचना खालि गराउन आह्वान गर्दै आएको थियो । तर, व्यवसायीले अटेर गरेपछि घण्टाघर क्षेत्रमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाउन सुरु ग¥यो ।

संरचना खालि गर्न अल्टिमेटम दिएको लामो समयसम्म पनि टेरपुछर नलगाएका व्यवसायी शनिवारदेखि नगरपालिकाका विरुद्धमा आन्दोलित बनेका थिए । पटक–पटक सूचना प्रकाशित गरेर विकल्प खोज्न नगरपालिकाले आग्रह गरेपनि शक्तिको आडमा नगरपालिकालाई व्यवसायीले आजित बनाएपछि वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले अन्ततः डोजर चलाउने निर्णयमा पुगिन । ढकालको उक्त निर्णयलाई लिएर नगरपालिका र व्यवसायी बिच केही बेर घम्साघम्सी चल्यो ।
उग्र बनेका केही व्यवसायीले संरचना हटाउन पुगेको नगरपालिकाको डोजरमाथि ताकेर ढुङ्गामुढा प्रहार गरे । ढुङ्गामुढाले डोजरको सिसामा पूर्णरुपमा क्षति पुग्यो भने चालकसहित नगरकका तीन जना कर्मचारी घाईते भए । केही बेर असान्त बन्न पुगेको घण्टाघर क्षेत्र नगरपालिकाले सम्यमता अपनाउदा अप्रिय घटना हुनबाट जोगियो ।
व्यवसायीहरु एक्कासी नगरपालिकाको डोजरमाथि जाइलागेपछि अवस्था तनावग्रस्त बन्यो, सरकारी सम्पक्ति माथि तोडफोड हुँदा सुरक्षाका लागि नजिकै खटिइको प्रहरीले एक्सन लिएन । प्रहरीको असयोगका कारण पछि हटेको नगरपालिकाले पुनः सुरक्षा निकायसँगको छलफलपछि डोजर खटायो ।
प्रहरीले सुरक्षा दिएपछि अन्ततः मेयर मोहनमाया ढकालले घोषणा गरेको लामो समयपछि वीरेन्द्रनगरमा सरकारी जग्गा खालि गराउन सफल भएकी छन् । नगरपालिकाले नगर क्षेत्रभित्र बनेका १ सय २५ वटा व्यवसायिक संरचनाहरु खालि गराउने छ ।

उच्च राजनीतिक दवावका बिच ढकालले अतिकम भाडा कबुल गरी जग्गा भाडामा लिएर आफू खुशी संरचना बनाई व्यवसायिक प्रयोजनमा लगाएर मोटो रकम असुल्ने विचौलियाको हातबाट नगरको जग्गा फिर्ता ल्याउन सफल भएकी छन् ।
गत वर्ष ३२ जेठमै संरचना हटाउने निर्णय गरेको नगरपालिकाले व्यवसायीहरुको माग अनुसार झण्डै एक वर्षसम्म निर्णय कार्यान्वयन गरेको थिएन । संरचना खालि गराउन दिइएको लामो समयसम्म पनि व्यवसायीले अटेर गरेपछि १८ माघमा संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो ।
सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत रहेकी मेयर ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खाली गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताउँदै आएकी छन् ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै पार्किङको समस्या बढ्दै जान थालेको दृष्टान्तलाई ध्यानमा राख्दै समितिले सार्वजनिक जग्गा संरक्षणको नीति लिएको थियो । सोही बमोजिम नगरपालिकाको सहरी गुरुयोजना तयार गरी व्यवस्थित हरित शहर निर्माणका लागि समितिको मातहतमा रहेका जग्गाहरु खालि गराउने प्रतिवद्धता मेयर ढकालले गर्दै आएकी थिइन ।
नगरपालिकाले ती क्षेत्रका संरचनाहरु हटाएसँगै साढे दुई विगाह जग्गा समितिको मातहतमा आउने छ । यस अघि मेयर ढकालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले व्यवसायिक भाडामा लगाएका सटरहरु खालि गराएर सरकारी जग्गा खालि गराउने अभियानको थालनी गरेकी थिइन ।

नेपाल कर्म । ३० फाल्गुन २०८०, बुधबार १८:१५